नमुना बन्दै हरित इलाम नगरपालिका
March 16, 2015

नमुना बन्दै हरित इलाम नगरपालिका
(कृष्ण अधिकारी)
इलाम, १ चैत । राजधानीमा फोहर उठ्न नसकेर दुर्गन्ध फैलिरहेका बेला इलाम नगरपालिकाका बासिन्दा भने आफूलाई निकै भाग्यमानी ठान्दछन्, फोहरमैलाको उचित प्रबन्ध भएका कारण स्वच्छ र सफा वातावरणमा बस्न पाएर । पहाडकी रानी एवम् सुन्दर नगरीबाट चिनिने इलाम नगरपालिका अहिले पूर्ण सरसफाइले गर्दा देशकै स्वच्छ र हरित नगरका रूपमा परिचित हुन थालेको छ ।
बसाइँसराइ, अव्यवस्थित सहरीकरण, वन विनास, भूक्षय, बाढी पहिरो, जैविक विविधतामा ह्रास, रासायनिक मलको प्रयोगले केही समययता प्रदूषित बन्न थालेको यो नगरपालिका अहिले सरकारी, निजी र समुदायस्तरमा भएको प्रयासले मुलुककै पहिलो हरित नगर बन्न सफल भएको छ ।
इलाम नगरपालिकालाई स्वच्छ, सुन्दर, हरियाली, सफा र सभ्य सहर बनाउने परिकल्पनाअनुसार अहिले यहाँ हरितनगर अभियानलाई अगाडि बढाइएको छ । सरकारले आव २०६८/६९ को वार्षिक नीति तथा कार्यक्रममा इलाम र घोराही नगरपालिकालाई औपचारिक रूपमा हरितनगर घोषणा गरेअनुसार इलाम नगरपालिकाको १५औँ नगर परिषद्ले हरितनगर बनाउने निर्णय गरेको थियो । इलाम नगरपालिकालाई प्लास्टिकमुक्त, खुला दिसामुक्त, सफाइ र वातावरण संरक्षणजस्ता कार्यक्रमले हरित नगरको रणनीतिक योजनाअन्तर्गत दिगो फोहरमैला व्यवस्थापनमा सार्वजनिक–निजी साझेदारीद्वारा ‘कम्पोष्ट प्लान्ट’ स्थापना तथा सञ्चालनपछि नगरको सौन्दर्य बढेको हो ।
हरित नगर अभियानअनुसार नै इलाम नगरपालिकाले २०६७ भदौ २८ गते प्लास्टिकमुक्त क्षेत्रको घोषणा गरेको हो । फोहरमा करिब १३ प्रतिशत प्लास्टिक पाइएको छ, जुन काठमाडौँको फोहरभन्दा ३.७६ प्रतिशतले बढी हो ।
–ः १४ ः–
प्लास्टिकले गर्दा ढल थुनिने, नदी, ताल तलैयाहरू प्रदूषित हुने समस्या बढेपछि प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्न कपडा वा जुटका झोलाको प्रयोग तथा कुनै वस्तु राख्न प्रयोग भइआएका सामग्रीहरू प्रयोगपछि सम्बन्धित उद्योगमा नै फिर्ता पठाउने गरिएकाले अहिले पानीका बोतल, प्लास्टिकका झोला वा अन्य प्लास्टिकजन्य वस्तुको उचित व्यवस्थापन भएको छ ।
उद्योग वाणिज्य सङ्घ इलामको महिला एकाइका संयोजक दिव्या भट्टराई सङ्घको पहलमा पानीका बोतल, चाउचाउ, बिस्कुट, चकलेटका खोल, कार्टुनहरू सम्बन्धित उद्योगलाई नै फिर्ता लैजाने व्यवस्था मिलाइएको र दुई वर्षभित्र मधुपराग, मोबाइलका रिचार्ड कार्डको उचित ढङ्गबाट व्यवस्थापन गरिने बताउनुहुन्छ । अहिले कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्ने काममा निकै सफलता मिलेको बताउँदै उहाँ सरसफाइप्रति निरन्तर चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र खानेपानी, ढल, विद्युत्को व्यवस्थापन गर्नु आवश्यक रहेकामा जोड दिनुहुन्छ ।
करिब ९८ प्रतिशत घरमा पक्की शौचालयको निर्माण भएपछि खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । गत वैशाख २५ गते खुला दिसामुक्त नगर घोषणा गरिएको थियो । नगरको सौन्दर्यलाई कायम राख्न घर, होटेल वा अन्य सार्वजनिक स्थलमा सड्ने र नसड्नेखालका फोहरको व्यवस्थापन गर्न ढ्वाङ् राखिएका छन् । बजार क्षेत्रभित्र सरसफाइ अङ्कित र सूचनासम्बन्धी फ्लेक्स बोर्ड राखिएका छन् । फोहर गर्नेलाई रु ५०० देखि रु पाँच हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
प्राकृतिक सौन्दर्यता, सम्पदा र वातावरणले इलाम धेरैको आकर्षणको गन्तव्य बन्दै गइरहेको छ । इलाम नगरपालिकाको आवधिक योजना २०६७÷६८–२०७१÷७२ ले इलामलाई हरित सहरका रूपमा विकास गरी विश्वकै नमुना सहर बनाउन सकिने गरी सिफारिस गरेको थियो ।
हरित नगरको अभियानलाई सार्थक बनाउन युरोपेली सङ्घको स्विच एसिया प्रोजेक्टको सहयोगमा विनरक इन्टरनेसनल, प्लानेट फाइनान्स र नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) द्वारा सञ्चालित हरित उद्यमशीलताका लागि सार्वजनिक–निजी साझेदारी परियोजनामार्फत व्यावसायिक ठोस फोहरमैला व्यवस्थापन चक्रको स्थापना गरिएको छ । चारवर्षे यस परियोजनाले दिगो फोहरमैला व्यवस्थापन प्रणाली स्थापना, सार्वजनिक–निजी साझेदारीमार्फत कम्पोस्ट प्लान्ट निर्माण र सञ्चालन, प्राङ्गारिक खेतीका लागि प्राङ्गारिक मल उत्पादन र कृषकको ऋणमा पहुँच बढाउन वित्तीय संस्थाहरूको परिचालन गरिने प्लानेट फाइनान्सका सुमन ढकाल बताउनुहुन्छ ।
यस परियोजनाले दिगो ठोस फोहरमैला व्यवस्थापनका चार आयामहरू – हरित साना तथा मझौला उद्यम, हरित नगर, हरित कृषि उत्पादन र हरित रोजगार – लाई एकीकृत गर्दछ । विनरक इन्टरनेसनलका कार्यक्रम अधिकृत बद्रीनाथ बरालका अनुसार साना तथा मझौला उद्यमले सड्ने र नसड्ने फोहरका लागि सुव्यवस्थित फोहरमैला व्यवस्थापन संयन्त्र सिर्जना गरिएको छ । यस संयन्त्रअन्तर्गत फोहरमैला सङ्कलन, पुनःचक्रण र चिया तथा तरकारीखेतीका लागि कम्पोस्ट प्लान्टको व्यवस्थापन गर्न सकिने उहाँको धारणा छ ।
प्राकृतिक सौन्दर्य कायम गर्न सरसफाइ अभियान निकै उपयोगी भएको बताउँदै महिला अधिकारकर्मी दीपा आचार्य नगरपालिकालाई सफा बनाउन स्थानीयवासीले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुको साथै बाहिरबाट आउनेलाई सचेत गराउन आवश्यक रहेको बताउनुहुन्छ । फोहरमैला व्यवस्थापन गर्नुको अर्थ फोहरमैलाको नकारात्मक असरलाई हटाउनु वा न्यून गर्नु हो । फोहरमैला व्यवस्थापनमा स्थानीयवासी आफैँ सचेत हुन जरुरी रहेको उहाँको भनाइ छ ।
–ः १५ ः–
हरित नगरपालिका रणनीतिक योजनाअन्तर्गत विद्यालयहरूमा वातावरण प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन, नगरको सौन्दर्य अभिवृद्धि गर्न हरियाली बढाउने, आयआर्जन तथा स्वरोजगारको कार्यक्रमहरू सञ्चालन, खानेपानीको आपूर्ति तथा वर्षाको पानी सङ्कलन, नगर क्षेत्रका घर तथा छानाहरूमा हरियो रङको प्रयोग गरिएको छ । अव्यवस्थित विद्युत्, टेलिफोन, केवललगायतका लाइनलाई भूमिगत गरी व्यवस्थित गर्ने, पर्यटकीय मार्गहरूमा चौतारी, सूचना पाटीहरूको निर्माण, बगैँचा तथा पार्कको निर्माण, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, खेलकुद रङ्गशाला निर्माण, सेनेटरी ल्यान्डफिल्ड साइट व्यवस्थापन, नगरलाई धुवाँरहित बनाउने कामहरू भएका छन् ।
इलाम नगरको हरित नगरको रणनीतिक योजनामा वातावरण, सहरी योजना, ऊर्जा, यातायात र सञ्चार, स्वास्थ्य र खेलकुद, कृषि सामाजिक÷सांस्कृतिक, आर्थिक, शिक्षा, सुशासनजस्ता क्षेत्रहरू निर्धारण गरिएका छन् । रणनीतिक योजनामा वृक्षरोपणदेखि नागरिकको व्यवहार, सोच संस्कार र सभ्यतामा सकारात्मक परिवर्तन ल्याउने क्रियाकलाप राखिएका छन् । हरित नगरलाई वातावरण, सहरी योजना, ऊर्जा, यातायात, सञ्चार, सुशासन, सामाजिक–सांस्कृतिक पक्ष, कृषि, स्वास्थ्य, शिक्षा र आर्थिक विकासजस्ता आयामहरूलाई विश्लेषण गरेर विभिन्न सूचकहरू तयार गरिएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार साहले जानकारी दिनुभयो ।
सहरीकरणसँगै फोहरमैलाको बढ्दो समस्याले नगरको सौन्दर्य ह्रास भइरहेका बेला हरित सहरको अवधारणा ल्याइएको एनसिडिसीका प्रमुख कार्यकारी अधिकृत हीराकाजी घले बताउनुहुन्छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोगको अन्त्य तथा फोहरमैलाको दिगो व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादन वृद्धि गर्न सकिए हरित सहरको दिगो विकास गर्न सकिने उहाँको धारणा छ ।
पूर्वी जिल्ला इलामबाट सुरु भएको हरित नगर अभियानलाई देशका अन्य नगरपालिकामा पनि विस्तार गर्न सकिएमा स्वच्छ र समृद्ध नयाँ नेपाल निर्माणमा बल पुग्नेछ । जनस्वास्थ्य, सामाजिक प्रतिष्ठा, विकास र समृद्धिको आधारस्तम्भका रूपमा रहेको सरसफाइको अभावमा दिगो विकासको परिकल्पना गर्न सकिँदैन । यस अभियानले वातावरणीय स्वच्छता कायम राख्दै इलामलाई आकर्षक पर्यटकीय नगरीका रूपमा स्थापित गर्नेमा शङ्का छैन । रासस
–––––––––
